ijsgeneralsecretary@gmail.com
  • Connect With Us:

मानवीय सेवाबाट समाजको नयाँ समितिको कार्यकाल सुरु, बाढीपीडित १०० परिवारलाई राहत

  • November 1, 2025

झापा । अन्तर्राष्ट्रिय झापाली समाजको पाँचौ अधिवेशनबाट निर्विरोध निर्वाचित नयाँ कार्यसमितिले मानवीय सेवाबाट आफ्नो कार्यकाल सुरु गरेको छ । समाजले २०८२ असोज १८ र १९ गतेको अविरल वर्षापछि बाढी र डुबानमा परेका झापाका १०० परिवारका लागि राहत प्याकेट स्वरूप ३ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । समाजको साझेदारी तथा सहकार्यमा कोभिड १९ देखि सञ्चालित ‘एकका लागि एक अभियान’ मार्फत बाढीपीडित १०० परिवारलाई राहत सामग्री वितरण गर्ने उद्देश्यले उक्त रकम असोज २८ गते मंगलबार हस्तान्तरण गरिएको हो । समाजका अध्यक्ष महेन्द्र चौलागाई, संरक्षक दिनेशकुमार पोखरेल, महासचिव चिरन खवासले अभियानका संयोजक महेन्द्रकुमार गिरीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका छन् ।
मानवीय सेवासंगै कार्यकाल सुरु गरेको बताउदै समाजका अध्यक्ष चम्लागाईंले मातृभूमि र झापामा आइपर्ने विपद् तथा अन्य काममा समाजले सक्दो सहयोग गर्ने बताए । समाजले दिएको रकमबाट अभियानले १०० परिवार बाढीपीडितहरुले राहतस्वरुपप्रति परिवार २५ केजी चामल, ५ केजी आलु, २ केजी दाल, २ लिटर तेल, १ केजी नून, एक थान झुल, साबुन, पेष्ट–ब्रस, म्याट्रेस २ थान र ब्लाङकेट २ थान लगायत प्रदान गरेको छ ।
बिर्तामोडमा भएको रकम हस्तान्तरण कार्यक्रममा अभियानतर्फबाट नविनकुमार गट्टानी, एकराज गिरी, रोनक बंशल, मिजास पोखरेल , राजेन्द्र चम्लागाईं, बिनोद पाण्डे तथा समाजका भिष्म ओली लगायतको उपस्थिति थियो ।
सोही अवसरमा झापा बाह्रदशीका समाजसेवी लोकनाथ चौलागाईले पनि रु ६० हजार रुपैयाँ अभियानलाई सहयोगस्वरूप हस्तान्तरण गरेका थिए । संयोजक गिरीका अनुसार ‘एकका लागि एक अभियान’ मार्फत झापाका करिब २ हजार बाढीपीडित परिवारले राहत प्राप्त गरिसकेका छन् ।
अभियानले विपत् व्यवस्थापनमा निरन्तर सहयोग गर्दै आएको छ ।

Comments


Copyright © All right reserved International Jhapali Samaj Site By: sobij