संसारभर विभिन्न देशहरुमा छरिएर रहेका झापालीहरुको साझा संस्थाको रुपमा स्थापित छ अन्तर्राष्ट्रिय झापाली समाज ।
यस गौरवमय संस्थाको सन् २०२५–२०२७ कार्यकालका लागि मलाई निर्विरोध रुपमा निर्वाचित गरी अध्यक्षको रुपमा कार्यसम्पादन गर्ने अवसर प्रदान गर्नुभएकोमा सिंगो कार्यसमितिको तर्फबाट संरक्षकज्यूहरु, राष्ट्रिय समितिहरु, प्रतिनिधिहरु लगायत सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
‘समृद्ध झापाका लागि अन्तर्राष्ट्रिय झापाली समाज’ हाम्रो मूल नाराले नै हाम्रो लक्ष्य र उद्देश्य स्पष्ट गरेको छ । विश्वभरीका झापालीहरु बीचको एकतालाई सुदृढ बनाउँदै त्यसमा अन्तरनिहित शक्तिलाई झापाको समग्र विकासको लागि प्रयोग गरी समृद्ध झापा बनाउन हाम्रो कार्यसमितिले संस्थाको क्षमताले भ्याएसम्म योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।
विगतदेखि नै हामीले संस्था मार्फत मातृभूमि र झापामा आइपर्ने विपद्, महामारीमा मानवीय सेवाका लागि समुदायस्तरमा काम गर्दै आएका छौं । संस्थाले निर्दिष्ट गरेको कार्यक्षेत्रहरुः शिक्षा, स्वास्थ्य, खेलकुद, मानवीय र सामाजिक सेवा, विभिन्न परोपकारी काममा सहयोग तथा झापालीहरुलाई एकताबद्ध गरी लगानीका क्षेत्रमा थप काम गर्नेर्छौं । यसका साथै यो कार्यकालमा संस्थाको आर्थिक तथा भौतिक विकासका लागि केही ठोस काम गर्नुपर्नेछ । संस्थाको आफ्नै भवन निर्माणको पहल, राष्ट्रिय समितिहरुको विस्तार तथा नेपाल समिति गठन, अक्षयकोषको पूर्णता, संस्थाका काम र सदस्यहरुको दस्तावेजीकरण, अष्ट्रेलियामा गर्ने पाँचौं क्षेत्रीय सम्मेलन अहिलेका मुख्य कार्यभार रहेका छन् । संसारभर रहनुभएका गैर आवासिय नेपालीहरु र उद्देश्य मिल्ने संस्थाहरुवीचको आपसी समन्वयबाट नयाँ संभावनाहरु र अवसरहरुको खोजी गरी मातृभूमि नेपालको समृद्धि र नेपालीको दीगो हितमा साझा कामका लागि सहकार्य गर्ने अवसर पनि हामी माझ छ । सहकार्यका लागि अध्यक्षका नाताले अन्तर्राष्ट्रिय झापाली समाजकै तर्फबाट म गैर आवासिय सबै नेपालीहरुमा आग्रह र अपिल पनि गर्दछु ।
अन्त्यमा,
संरक्षकहरु तथा सल्लाहकारहरु, शुभेच्छुकहरुका सल्लाह–सुझाव हाम्रा मार्गदर्शन हुन् । सदस्यहरु तथा राष्ट्रिय समितिहरुको भावना समेटेर कार्यसमितिको साझा निर्णयबाटै हामी अघि बढ्ने छौं । हामी कुराभन्दा बढी काममा विश्वास गर्छौं । अतः हाम्रो कार्यसमितिको कार्ययोजना पूरा गर्न सबै क्षेत्रको सल्लाह–सुझाव, साथ–सहयोग, सहकार्यको सदैव अपेक्षा गर्दछौं ।
आउनुहोस्– विश्वभर रहनुभएका झापालीहरुलाई अन्तर्राष्ट्रिय झापाली समाजको छातामुनि एकताबद्ध गर्दै समृद्ध झापा बनाउने अभियानमा जुटौं ।
” महेन्द्रप्रसाद चम्लागाँई , अध्यक्ष “